ताजा समाचार

खेलमैदान बनेको पोखरीमा पानी

टोलभरिका इनारको स्रोत बनेको ऐतिहासिक दुईपोखरी (निगुपुखुः) हेर्दा हेर्दै खेलमैदान बनेको थियो । हरियाली तलाउमा पानी सुकी बालुवा बाँकी रहँदा टोलबासी खिन्न थिए । विस्तारै त्यहाँ घाँस पलाई बालबालिकाको खेलमैदान बन्यो ।

३ सय वर्ष पुरानो इतिहास बोकेको यो पोखरी पुनर्निर्माणसहित सोमबारबाट पानी भर्न थालिएको छ ।मध्यपुरथिमि नगरपालिकाले दुईपोखरीमा पानी भर्ने कार्यको थालनी गरेको हो ।

नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, उपप्रमुख अञ्जनादेवी मधिकर्मी, मध्यपुरथिमि–४ वडाका वडाध्यक्ष कुमार श्रेष्ठ, निगु पुखुः पुनर्निर्माण तथा गुरुयोजना उपभोक्ता समितिका पदाधिकारीलगायतले नागको पूजा गरी पोखरीमा पानी भरेका छन् । पोखरीमा पानी टिकाइराख्न नागको पूजा गरेर पानी राखेको नगरप्रमुख श्रेष्ठले बताए ।
खेलमैदानको रूपमा परिणत दुईपोखरीमा बिस्काः (बिस्केट जात्रा) सम्ममा पानी भरिसक्ने लक्ष्यअनुरूप नगरपालिकाले सोमबारबाट पानी भर्न सुरु गरेको हो । बिस्केट जात्रालगत्तै अर्को पोखरीको पुनर्निर्माण थालिने नगरपालिकाले जनाएको छ । पानी अहिले नेपाल कोरियामैत्री अस्पताल नजिक बोरिङ गरी पानी ल्याइएको हो । पछि आकाशेपानीसमेत जम्मा गरी प्रशोधन गरेर राख्ने तयारी छ ।
दुईपोखरी संरक्षणको पहिलो चरणमा कालीमाटी बिछ्याएको जनाइएको छ । सुरुमा कालीमाटी १ फिट, ३ इन्च पाँगो माटो र पुनः ६ देखि ८ इन्च कालीमाटी, २ इन्च बालुवा बिछ्याएपछि इँटा सोलिङ गरेर पानी राख्न सुरु गरेको उपभोक्ता समिति संयोजक निरञ्जन श्रेष्ठले बताए । उक्त पोखरी संरक्षण तथा पुनर्निर्माण गर्न नगरपालिकाले चालु आर्थिक वर्ष ०७५/७६ मा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ । हालसम्म करिब ६० लाख रुपैयाँ बजेट खर्च भइसकेको समितिले जनाएको छ ।
आकाशेपानी संकलन गरेर प्रशोधन गरेपछि मध्यपुरथिमि–४ स्थित ऐतिहासिक दुईपोखरीमा पानी भर्ने प्रस्तावअनुरूप गत मंसिरबाट पुनर्निर्माण सुरु भएको उपभोक्ता समितिकी सचिव सरू (अंगुर) श्रेष्ठले बताइन् । मध्यपुरथिमि इनाय टोलको राजगणेशदेखि दिगुभैरव भैरव मन्दिरसम्मको पानी संकलन गर्ने र संकलित पानी दुई स्थानमा प्रशोधन गरेपछि मात्र पोखरीमा खसाल्ने योजना रहेको उनी बताउँछिन् ।


दुईपोखरी संरक्षण पुनर्निर्माणका लागि नगरपालिकाले करिब १५ करोडको लागत इस्टमेट तयार गरेको छ । तीन वर्षमा पुनर्निर्माण सक्ने गरी पैदलमार्ग निर्माण, ८ वटा फल्चा (पाटी) निर्माण गर्नुका साथै नगरको मुख्य सांस्कृतिक केन्द्रको रूपमा दुईपोखरी क्षेत्रलाई व्यवस्थित गर्ने लक्ष्य लिएको नगरप्रमुख श्रेष्ठले बताए । हाल पोखरीवरिपरि ६ वटा फल्चा अवस्थित छ । करिब ३ सय वर्ष पहिले गंगा महारानीले दुईपोखरी स्थापना गरी मध्यपुरथिमिबासीलाई पानीको स्रोत दिएको भन्ने कथन छ ।
कुनै भवितव्य होस् अथवा सिँचाइ, जुनसुकै प्रयोजनका लागि पोखरीकै पानी प्रयोग गर्ने चलन थियो । बढ्दो सहरीकरण तथा पानीका वैकल्पिक स्रोत प्रयोग हुन थालेपछि पोखरी संरक्षणमा ध्यान जान छाडेको समितिका कोषाध्यक्ष विद्याराम श्रेष्ठ बताउँछन् । दुईपोखरीमा बोडेको कमलपोखरी र याता पोखरीबाट पानी ल्याउने गरिन्थ्यो । बढ्दो जनघनत्व र सहरीकरणका कारण पोखरीसम्म ल्याउने पानी बीचबाटोमै टुटेपछि पोखरीमा पानी सुकेको हो ।
२०१५ सालमा राजा महेन्द्र भक्तपुर आउँदा दुईपोखरीको पानी हटाएर मैदान बनाई राजालाई स्वागत गरेदेखि नै पोखरीको पानी सुक्न थालेको कोषाध्यक्ष श्रेष्ठको भनाइ छ । बेलाबेलामा पोखरी संरक्षण गर्ने प्रयास गरे पनि पोखरीको संरक्षण हुन सकेको थिएन । ०६५ मा नगरपालिकाले १० लाखको लगानीमा बार लगाएर संरक्षण प्रयास गरे पनि सफल हुन सकेन ।
मध्यपुरबासीले दुईपोखरी सुधार समिति नै गठन गरी पटक/पटक संरक्षण प्रयास गर्दै आएको छ । मध्यपुरथिमी बालुवाको थुम्कोका रूपमा पनि चिनिन्छ । बालुवा भएको ठाउँमा पानी जोगाउन मुस्किल हुने स्थानीय बताउँछन् । पोखरीमा पानी बचाउन पहिलेकै मुहान पत्ता लगाउनुपर्ने र नरपालिकाले पोखरीको पूर्ण संरक्षण गर्न एकमुष्ट रकम छुट्ट्याउन आवश्यक रहेको स्थानीयको सुझाव छ । मध्यपुरथिमी–४ याता क्षेत्रमा करिब २० वटा इनार छन् ।
एक जमानामा इनारहरूको मुख्य स्रोत पनि दुईपोखरी भएको स्थानीय एवं दुईपोखरी अनुगमन समिति संयोजक बालकृष्ण पात्य श्रेष्ठले बताउँछन् । पोखरीमा पानी सुक्न थालेपछि इनारमा पनि पानी सुक्दै गएको छ । नगरपालिकाले दुईपोखरी क्षेत्रलाई सांस्कृतिक क्षेत्रको रूपमा विकास गर्ने र नगरको प्राचीन एवं ऐतिहासिक संस्कृतिको प्रदर्शन स्थल निर्माण गर्ने लक्ष्य लिएको नगरप्रमुख श्रेष्ठ बताउँछन् ।

कान्तिपुर दैनिकबाट साभार

स्रोत :

WP Facebook Auto Publish Powered By : XYZScripts.com