ड्राइभिङ लाइसेन्समा क्याटेगोरी थप्न के गर्ने ?

ड्राइभिङ लाइसेन्समा क्याटेगोरी थप्न के गर्ने ?

एक पटक सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) लिइसक्नुभएको छ र त्यसमा अरु कुनै सवारीको वर्ग (क्याटेगोरी) थप गर्ने विचारमा हुनुहुन्छ भने तपाईलाई यो लेख लाभदायक हुनसक्छ । हामीले ‘स्मार्ट ड्राइभिङ लाइसेन्स लिने प्रक्रिया’ शीर्षकको लेखमा पहिलो पटक लाइसेन्स लिने प्रक्रियाको बारेमा जानकारी गराएका थियौं । अब भने आफूले पहिले नै प्राप्त गरेको लाइसेन्समा उल्लिखित सवारीका अतिरिक्त अन्य कुनै सवारी समावेश गराउने प्रक्रियाको बारेमा यहाँ जानकारी गराउनेछौं ।

प्रक्रिया-१ : दरखास्त दिने
सर्वप्रथम चालकले आफूले समावेश गराउन चाहेको सवारीको किसिम खुलाई निर्दिष्ट ढाँचामा तोकिएबमोजिम दस्तुर बुझाई त्यसको भौचरसहित सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिने यातायात व्यवस्था कार्यालयमा दरखास्त दिनुपर्नेछ ।

प्रक्रिया-२ : ट्रायल परीक्षा दिने
प्राप्त दरखास्त साथ संलग्न कागजातहरु रुजू गरी स्वीकृत भएमा सामान्यतया बढीमा १ हप्ताभित्र त्यस्ता निवेदकहरुको प्रयोगात्मक परीक्षा लिइन्छ । पहिले कुनै सवारी चालक अनुमतिपत्र प्राप्त गरिसकेका व्यक्तिहरुले थप सवारीका लागि अनुमतित्र प्राप्त गर्न पुनः लिखित परीक्षा भने दिनुपर्दैन ।

यातायात व्यवस्था कार्यालयले तोके बमोजिमको मिति, स्थान र समयमा गएर आवेदकले प्रयोगात्मक परीक्षा (ट्रायल) दिनुपर्नेछ । प्रयोगात्मक परीक्षास्थलमा परीक्षार्थीले सवारी साधन चलाउन सक्ने नसक्ने बारेमा प्रयोगात्मक विधिबाट परीक्षा लिइन्छ ।

प्रक्रिया-३ : यातायात व्यवस्था विभागमा जाने
सामान्यतया प्रयोगात्मक परीक्षा सम्पन्न भएको भोलीपल्ट सोको नतिजा कार्यालयको सूचनापाटीमा टाँस गरिन्छ । प्रयोगात्मक परीक्षामा उत्तिर्ण भएका निवेदकहरुले सम्बन्धित कार्यालयको सम्बन्धित फाँटमा जानुपर्नेछ ।

प्रक्रिया-४ : लाइसेन्स लिने
परीक्षाफल प्रकाशित भएको मितिले सामान्यतया बढीमा १ हप्ताभित्र सम्बन्धित फाँटवालाले कार्यालयमा राख्नुपर्ने रेकर्डहरु आफ्नो जिम्मामा सुरक्षित राखी नियमानुसार सवारी थप गरी लाइसेन्स दिनेछ ।

नोट : हाल माग बमोजिम लाइसेन्स छपाई हुन नसकेको भन्दै लाइसेन्सका लागि आवश्यक सबै प्रक्रिया पूरा गरेका आवेदकलाई सामान्यतः कम्तीमा ८ महीनापछि मात्रै यातायात व्यवस्था विभागले लाइसेन्स उपलब्ध गराउँदै आएको छ । लाइसेन्स प्राप्त नहुन्जेलसम्मका लागि विभागमा बुझाएको राजस्वको रसिद साथमै बोकेर हिँड्नुपर्नेछ र उक्त रसिदलाई लाइसेन्स बराबरको मान्यता दिने गरिएको छ ।

nepalinepse

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP2Social Auto Publish Powered By : XYZScripts.com