प्राइमले कन्काई बैंकलाई १००ः६८ को सेयर स्वाप अनुपातमा प्राप्ति गर्ने

प्राइमले कन्काई बैंकलाई १००ः६८ को सेयर स्वाप अनुपातमा प्राप्ति गर्ने

प्राइम कमर्सियल बैंक लिमीटेडले झापाको दमकमा मुख्य कार्यालय रहेको तीन जिल्ले कन्काई विकास बैंकलाई प्राप्ति गर्ने भएको छ।

राष्ट्रिय स्तरको ओम डेभलपमेन्ट बैंकसँगको ८ महिना लामो मर्जर प्रक्रिया सफल नभएपछि उपयुक्त पार्टनरको खोजीमा रहेको प्राइमले दमक ६ थानारोड, झापामा मुख्य कार्यालय रहेको कन्काईसँग गाभ्ने गाभिने सम्झौता गरेको हो । 

प्राइमले कन्काईजस्तै साना बैंक तथा वित्तीय संस्थाहरुलाई गाभ्ने रणनीति लिएको देखिन्छ । यहीकारण उसले अन्य थुप्रै साना वित्तीय संस्था(विकास बैंक र वित्त कम्पनी)सँग समेत एक्वीजिसनको छलफल चलाइरहेको छ । 

प्राइम बैंकको कमलपोखरीस्थित मुख्य कार्यालयमा एक समारोहका बीच दुवै बैंकका अध्यक्षले प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र कन्काई विकास बैंक लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सेवक दाहालले हस्ताक्षर गरेका हुन् । 

हाल प्राइम बैंकको चुक्तापुँजी ८ अर्ब ३ करोड रुपैयाँ रहेको छ । कन्काई विकास बैंकको चाहि ५१ करोड ५० लाख रुपैयाँ रहेको छ । दुवै बैंकस्थित उच्च स्रोतले दिएको जानकारी अनुसार प्राइमले कन्काईलाई १००ः६८ को हाराहारीमा प्राप्ति गर्न खोजेको हो । 

यसको अर्थ कन्काई विकास बैंकको १०० कित्ता सेयर हुनेले बिलयपछि बन्ने प्राइम बैंकको ६८ कित्ता पाउनेछन् । तर, सेयर स्वाप रेसियोको अन्तिम टुंगो भने डिडिए रिपोर्टले मात्र लगाउनेछ । 

दोश्रो बजारमा प्राइमको अन्तिम बिक्री मूल्य प्रतिकित्ता ३०२ रुपैयाँ रहेको छ भने कन्काईको १९६ रुपैयाँ रहेको छ । 

नियमनकारी निकाय, श्री नेपाल राष्ट्र बैंकले प्राथमिकताका साथ जोड दिइरहेका विषयहरु मर्जर र एक्विजिसन, ग्रामीण क्षेत्रमा विशेषगरी कृषि क्षेत्रमा वित्तीय स्रोतको पहुँच वृद्धि, ग्रामीण क्षेत्रमा रोजगारी सिर्जनाको साथै थप सुदृढ र सवल बैंकको रुपमा मुलुकको समग्र आर्थिक विकासमा सहभागिता बढाउने उद्देश्यलेकन्काई विकास बैंक लिमिटेडलाई एक्विजिसन गर्न सहमति जनाइएको प्राइम बैंकले दाबी गरेको छ । 

कन्काई विकास बैंक लिमिटेडका ग्रामीण क्षेत्रमा १६ वटा शाखाहरु रहेका छन् । प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या ८९ हुनेछ । 
प्राइमले कन्काईलाई सकेसम्म छिटो प्राप्ति गरिने समेत पत्रकार सम्मेलनमा प्रष्ट पारेको छ । 

nepalinepse

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP2Social Auto Publish Powered By : XYZScripts.com