महाभूकम्पको चार वर्ष, बिस्तारै उठ्दैछ नेपाल

महाभूकम्पको चार वर्ष, बिस्तारै उठ्दैछ नेपाल

भूकम्प गएको चार वर्ष पुरा भएको छ । चार वर्षको अवधिमा अहिले पनि कतिपय भूकम्प पीडित आकाशको छानामुनि बस्न बाध्या भएका छन् । चार वर्षको अवधिमा पनि सबै भूकम्प पीडितले घरमा बास बस्न सकेका छैनन् । आर्थिक अभावका कारण भूकम्प पीडितले घर बनाउन नसकेका हुन । 

यता, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भने पुनर्निर्माणको काममा ८० प्रतिशत हासिल गरेको दाबी गरेको छ । प्राधिकरणको दाबी आफैले कतिसम्म सत्य होे भन्नेमा आम जानमानसमा प्रश्न समेत उठेको छ । २०७२ वैशाख १२ गते, ११ बजेर ५६ मिनेटमा गएको भूकम्पमा ७ लाखभन्दा धेरै सरकारी तथा निजी घर, सांस्कृतिक, पुरातात्विक मठ मन्दिर र ऐतिहासिक संरचना, सडक, पुल लगायतका भौतिक संरचनालाई पूर्ण र आंशिक रुपमा ध्वस्त बनाईदियो ।

१९९० सालमा गएको ८ दशमलव ४ रेक्टरको भूकम्पपछि गएको यो दोस्रो ठूलो भूकम्प ७ दशमलव ६ रेक्टर स्केलको रहेको थियो । 
गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पको बिहीबार चार वर्ष पूरा भएको छ । वैशाख १२, १३ र २९ गते गएको ठूला भूकम्प र त्यसपछि आएको परकम्पका कारण ८ हजार ७ सय ९० जना स्वदेशी तथा विदेशी नागरिकले ज्यान गुमाएका थिए भने २२ हजार ३ सय जना घाइते भएको थिए । भूकम्पले क्षतिग्रस्त भग्नावशेषहरु अझै पूर्ण रुपमा उठन सकेका छ्रैनन् ।  

उक्त भूकम्पले गोरखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, दोलखा लगायतका जिल्लामा ठूलो जनधनको क्षति पुग्यो । धेरै मानिस अहिलेपनि त्यो समयलाई सम्झन चाहदैनन् । त्यो एक मिनेटले धेरैमा मुहारको मुस्कान खोसेको थियो । 
उक्त भूकम्पले ४ लाख ९८ हजार ८ सय ५२ ओटा निजी आवास पूर्ण रुपमा र २ लाख ५६ हजार ६ सय ९७ ओटा घरहरुमा आंशिक क्षति भएको थियो । २ हजार ६ सय ५६ सरकारी भवन र ७ हजार शैक्षिक संस्थाका १९ हजार कक्षा कोठा पूर्ण रुपमा क्षति भएका थिए । प्रतिवेदनले भूकम्पले प्रभावित ३१ जिल्लामध्ये १४ जिल्लालाई अतिप्रभावित जिल्लाको रुपमा वर्गिकरण गरेको छ । सार्वजनिक र निजी क्षेत्रमा गरेर भूकम्पका कारण ७ खर्ब ६ अर्ब रुपैयाँ बराबरको क्षति हुन पुगेको थियो । 

भूकम्पले क्षति पुगेका निजी तथा सरकारी आवासीय भवन, साँस्कृतिक सम्पदाहरु, विद्यालय, स्वास्थ्य चौकी, सडक, पुल, विद्युत आयोजना आदिको पुनर्निर्माण र नवनिर्माण कार्य भइराखेपनि यसलाई सन्तोषजनक मान्न सकिने अवस्था छैन । भूकम्पबाट भत्किएका घर तथा भौतिक संरचनाहरुको पुनर्निर्माण र विस्थापित भएका व्यक्ति तथा परिवारलाई पुनस्र्थापना गर्न भनेर सरकारले भूकम्प गएको १० महीनापछि २०७२ साल पुस १० गते छुट्टै स्वायत्त निकायका रुपमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको स्थापना गरेको थियो । 

प्राधिकरणले चार वर्षको अवधिमा निजी आवास पुनर्निर्माणमा समग्र रुपमा ८० प्रतिशत उपलब्धि हासिल गरेको दाबी गरेको छ । अनुदान सम्झौता गरेका ७ लाख ६२ हजार ३०७ घर परिवार मध्ये ६ लाख १२ हजार ९३५ घर परिवार पुनर्निर्माणको प्रक्रियामा रहेको बताएको छ । जसमध्ये ५० प्रतिशत अर्थात ३ लाख ८२ हजार २७७ परिवारले घर पुनर्निर्माण सम्पन्न गरी आ–आफ्नो घरभित्र प्रवेश गरिसकेको जिकिर गरेको छ ।

साथै, ३० प्रतिशत अर्थात् २ लाख ३० हजार ६५८ परिवार घर पुनर्निर्माणका क्रममा रहेको बताएको छ । भूकम्प पीडितहरुलाई जीवीको पार्जनका अवसरहरुसँग जोड्ने र आर्थिक रुपमा रुपान्तरण गर्ने चुनौतीलाई सहुलियत ऋणको व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ भने आगामी वर्षदेखि विशेष सहयोग कार्यक्रम सञ्चालनमा ल्याइने जानकारी गराएको छ ।

nepalinepse

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP2Social Auto Publish Powered By : XYZScripts.com