समाज बदल्ने संकल्प

समाज बदल्ने संकल्प

अन्जू अर्थात मेरी बालसखी ।

सानैदेखि अचाक्ली राम्री । गुडिया जस्तै । 

उसको सुन्दरता देखेर भुतुक्क हुन्थेँ म । डाहा नै लागेर आउँथ्यो।

अन्जूका बा-आमा गरिब रहेछन् । त्यो बेला गरिब हुनुको अर्थ न हामीलाई थाहा थियो न अन्जूलाई । थाहा नभएपछि मतलब हुने कुरा पनि भएन। 

मधेसको ठाउँ । गर्मी महिना । सायद भदौ हुनुपर्छ । स्कूल नजिकै सर्वत बेच्ने सानो पसल थियो । हामी सर्वत खान गयौंं अन्जू र मैले एउटै गिलासमा खायौं । 

पसल्नी हजुरआमाले भुइँतिर थुक्दै भन्न थालिन्- “छि: छि: छि: बाहुनी भएर हेर हेर सर्किनीको जूठो खाकी ! कस्तो घिन नलाग्या त ?” मैले पसल्नी हजुरआमाको कुरा बुझिनँ । वास्तै गरिनँ । फेरि खान थाल्यौं । हजुरआमा फेरि बर्बराइन् – “हैन तिमी पोखरेलकी छोरी राधा होइन ?” 

हजुरआमाले मलाई नै भनेको रहेछ भन्ने पक्का भयो । मैले टाउको हल्लाएर “हो” भनेँ । “सर्किनीको जुठो पनि खाने हो त ?” हजुरीले हप्काइन् । हजुरीको कुरा फेरि पनि बुझिनँ र हजुरीलाई ट्वाँ परेर हेरिरहें । 

“बुझिनौ ? ठुलो जातले सानो जातको जुठो खानु हुँदैन । यो त पानी पनि नचल्ने सर्किनी पो हो त ! सानो जातकी । अछुत ।” अन्जूलाई देखाउँदैं हजुरीले भनिन् । 

हजुरीको कुरा सुनेर हामी पाँचैजना ट्वाँ पर्यौँ । हामीलाई कुरा सुनेर रिस उठेन । मान्छे पनि ठूलो जात र सानो जात हुँदोरहेछ भनेर हाँसो उठ्यो । हामी सबैजना खितितिति… हाँस्यौँ । हजुरीले पनि के बुझेर हो कुन्नि “छँडुलीहरू” भन्दै हामीसँगै हाँसिन् । 

घरमा गएर मैले आमालाई पसल्नी हजुरीको कुरा सुनाएँ । आमा पसल्नी हजुर आमा जसरी न त रिसाउनु भयो न त हाँस्नु नै भयो । बरू मलाई सम्झाउन लाग्नु भयो- “यस्ता जातपातको कुरा बुझ्ने उमेर भा’छैन तिम्रो । धेरै चासो नलिनू । जसको भए पनि जुठो चाहिँ नखानू । जुठो खाँदा अर्काको रोग सर्छ ।” आमाको कुराले म झन भ्रमित भएँ ।

अन्जू स्कूलमा सबभन्दा राम्रो नाच्थी । सरस्वतीपूजाको दिन उसको नाच हेर्न घर-घरबाट अभिभावकहरूसमेत आउँथे । सबैले “हिरोनी” हुन्छ भनेर प्रसंशा गर्थे । ऊ पनि मख्ख पर्थी । ऊ भन्दा बढी उसकी आमा मख्ख पर्थिन् । किनकि, उसलाई नाच्न सिकाउने उसकी आमा थिइन् ।

के हो बाहुनी ? के हो सर्किनी ? के हो सानो जात ? के हो अछुत ? मेरो कलिलो टाउकोमा केही छिरेन । अन्जू पनि म जस्तै थिई । छालाको रंग र अनुहारको बनावट मात्र थोरै फरक । अन्जू पनि खुसी हुँदा म जस्तै हाँस्थी । दुखी हुँदा म जस्तै रून्थी । रिसाउँथी । ठुस्किन्थी । सबै म जस्तै । सबभन्दा अचम्म लाग्दो कुरा त उसको र मेरो रगत पनि एउटै रंगको थियो- रातो । अनुहारमा मभन्दा राम्री थिई । नाच्न सबैभन्दा बढी उसैलाई आउँथ्यो । अनि अन्जू कसरी सर्किनी ? अछुत ?? म कसरी बाहुनी ? छुत ?? यी प्रश्नहरूले मलाई सधैँ चिमोटी रह्यो । 

जे भए पनि मेरो दोस्ती छुटेन । अन्जूप्रति मभित्र झन अनौठो अनुराग पैदा हुँदै गयो । यस्तैमा म गम्भीर बिरामी परेँ । त्यतिबेला १३ बर्षकी थिएँ म । उपचारको लागि म काठमाण्डौं आएँ ।त्यसपछि फर्केर गाउँ जान सकिनँ । यतै पढ्न थालेँ । 

नृत्य प्रतिस्पर्धामा अन्जू देशको बिभिन्न ठाउँमा पुगेको कुरा थाहा पाइरहन्थेँ । कहिलेकहिँ कुरा पनि हुन्थ्यो । खुसी लाग्थ्यो । प्रगतिको लागि शुभकामना र बधाई दिन्थेँ । ऊ खुसी हुन्थी । यस्तैमा एकपटक काठमाण्डौं पनि नृत्य प्रतिस्पर्धा कै लागि आइन् । फोन गरी । भेटघाट गर्यौं । हाम्रो खुसीको आकाश सीमाहीन भएर फैलियो । 

त्यस्तो खुसीको क्षणमा पनि अन्जू बेलाबेला झस्किन्थी । उसको अनुहार एकाएक परिबर्तन हुन्थ्यो । सजग हुन्थी । सम्हालिन्थी । नसोधौं जस्तो लागेको थियो । तर नसोधी बस्न सकिनँ । सोधेँ- “कोहीसँग चक्कर चल्या छ कि क्या हो ?” शुरूमा त होइन भनेर टारी । तर अन्तमा गली । र, भनी :

“ऊ पनि डान्सर हो । झापाको एउटा कार्यक्रममा भेटेकी । मान्छे ह्याण्डसम छ । खोइ कसरी कसरी प्रेम गर्न पुगेछु भन्या । ….. । ” थोरै लजाई । अनुहारमा सूर्य उदायो । सूर्यमा कहिल्यै ग्रहण नलागोस् । मनमनै कामना गरेँ ।

nepalinepse

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP2Social Auto Publish Powered By : XYZScripts.com