ताजा समाचार

मन पशुपतीमा जलिरहेका लासले हैन, छेउमै काल पर्खिरहेका वुद्धाआश्रमको भिडले भकानिन्छ । – राधा पाेखरेल

पशुपति गइरहन्थे म । कामको ब्यस्तताले धेरै भयो जान पाएकी थिइन। बल्ल आइतबार समय मिल्यो, र गएँ ।
बृद्धाश्रम छ पशुपति परिसरभित्र । सधैं भरिभराउ हुन्छ बृद्धाश्रम । त्यहाँबाट फर्कदा पटक्कैपिच्छे कामना गर्छु म- “हे पशुपतिनाथ ! खाली होस् यस बृद्धाश्रम । म फेरि आउन नपरोस् यहाँ ।” तर मेरो कामना विपरीत बृद्धाश्रम अझ भरिभराउ हुन्छ । अघिल्लोचोटी जाँदा भेटिएका केही अनुहारहरू पछिल्लोचोटि जाँदा भेटिदैंनन् । त्यहाँ नयाँ अनुहार आइसकेका हुन्छन् ।

यसपालि पनि त्यस्तै भएको थियो । उमेरले मेरो बाबाको दौंतरी करिब ८१ बर्षको एकजना बा लाई यताउता हेरें । अहँ कतै देखिनँ । त्यहाँ उपस्थित अरूका लागि सायद मेरो अनुहार आफैँ प्रश्न बनेको थियो । जवाफ आयो नजिकैबाट- “विचरा भाग्यमानी रहेछ । चाँडै गयो । दुःखै लुक्यो ।” ओसिला भए मेरा दुबै आँखा । एकतमासले टोलायो मन ।
प्रश्न गरें आफैँलाई- चाँडै मर्नु के भाग्यमानी हुनु हो ? मलाई लाग्छ, मृत्यु सबैभन्दा डरलाग्दो शब्द हो मान्छेको लागि । तर यी मान्छेहरू किन मृत्युको रहर गरिरहेका छन् ? अनुमान गरें- सायद बाँच्नुको बोझ नै मृत्यु-मोह हो कि !

Blogtay

अपवाद बाहेक अधिकांशको गुनासो आफ्नै सन्तानप्रति हुन्छ ।पीडैपीडाको पहाडले थिचिएर दुःखैदुःखमा दिन बिताइरहेका यी बृद्ध-बृद्धाको उदास अनुहार बेस्सरी बिझाउँछ सधैं मलाई । जति बिझाए पनि आखिर के गर्न सक्छु र म ? उनीहरूको सन्तानको अभाव पुर्ति गर्न सक्छु र ? अहँ पक्कै सक्दिनँ ।

म सँगको सधैंको भेटमा तिनै बाबा मुटु भक्कानो पारेर धुमिल आँखा क्षितिजतिर ओछ्याउँदै भन्नुहुन्थ्यो- “ऊ (छोरा) एकदिन त आउँछ होला हगि मलाई लिन ?” उफ् ! तर आएन उनको निष्ठुरी छोरा उनलाई लिन । बरू बिदा हुनुभयो बाबा आफैँ सबैलाई छाडेर ।

कसरी भयो होला यस्तो हालत ? बाबाको नियति थाहा पाउन चाहन्थें म । धेरैपटकको मेरो आग्रहलाई अस्वीकार गर्न नसकेपछि एकदिन उहाँले आफ्नो नालिबेली यसरी बताउनु भएको थियो ।

पाहाड घरमा सानीआमाको कारण १० बर्षमै आफू शहर पस्न परेको कुरा र धेरै दुख गर्दै जिवन विताएको बिगत सम्झदै बाबा आफ्नो २७ बर्षे जवानीमा फर्कनु भयो । सूर्य झैं झरझराउँदो भो उहाँको अनुहार ।
त्यसपछि विवाह भएको र विवाह गरेको ११ बर्षपछि मात्र छोरो जन्मिएको नालिबेली पनि बताउनु भयो उहाँले ।

सन्नाटा चिर्दै मैले सोधें
“ अनि खोई त तपाइको परिवार….?”
“परिवार….!?” करेण्ट लागे झैं बाबा तरंगित हुनु भयो ।

बाबाको अनुहारमा एकाएक औंसी छायो ।
नानी ! छोरा जन्मने र आमा मर्ने एकैसाथ भयो । मेरी पत्नीले मलाई छोराे दिएर सधैंको लागि हामीलाई छाडेर गई । मेरो प्रश्नको जवाफ बाबाले आँसुले दिनुभयो । निकैबेर रूनु भयो बाबा ।

मैले जस्तै सानीआमाको कारण दुःख होला छोरालाई भनेर अर्को बिहा पनि गरिनँ नानी मैले । बाबा फेरि भावुक बन्नुभो । ज्याला मजदुरी गरेर बनाको घर पनि आफ्नो भएन । आज पाटीको बास भो । फेरि एकाएक भक्कानिनु भो उहाँ ।

अबरूद्ध गला सफा गर्दै बाँकी ब्यथा यसरी सुनाउनु भयो : हेर नानी ! खाइ नखाई छोरोको इच्छानुसार पढाइयो । छोरोभन्दा धेरै खुशी थिएँ म, ऊ डाक्टर भएकोमा । छोरोको बानिब्यहोरामा देखेर डाहा नगर्ने कोही थिएन । छोरो हुनु त फलानाको जस्तो पो त ! गर्वले छाती चौडा हुन्थ्यो छोराको प्रशंसा सुनेर ।

फेरी कथा जोड्नु भयो- उस्को इच्छा अनुसारकै बुहारी भित्रायो खुशी थिएँ म पनि ।
– “बिहे भएको ६ महिना नबित्दै बुहारीको कचकच सुरू भो । छोरोलाई मोहनी लाइस् पो भन्छ ए मलाई त । साँच्चै आज्ञाकारी थियो त्यो । भनेको कुरा एउटै नकाट्ने । तर विहे भएको महिनौ दिनमै स्वास्नीसँगै मिलेर मलाई गाली गर्न सुरू गर्यो । अमृत जस्तै उस्को वचन तीर बनेर मुटुमा गढ्न सुरू भइसकेको थियो । सहनुको पनि सीमा हुन्छ नि ! कहिलेकहिँ त मलाई मर्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । के गर्नु आफुले सोच्दैमा काल नआउॅदोरहेछ ।’

बिस्तारै छोराबुहारीले नोकर जस्तै गर्न थाले । खान पनि अड्कलेर दिन थाले । बिरामी हुँदा वास्ता गर्न छाडे । जे भए नि म त त्यस्को वाउ हूँ नि नानी ! बुहारी त अर्काकी छोरी, छोरो त मेरै हो नि । स्वास्नीको कुरा सुनेर त्यस्तो नराम्रो गर्नु हुन्छ त ?” वुवाको आँखामा आँसु अटेन । परेलीको खोंच हुँदै आँसुको खोली बग्न थाल्यो । मेरो पनि रसिला भए दुबै आँखा ।

बुढो शरिर छोराले विरामी हुँदा वास्ता त के बुबा नै भन्न छाडिदियो । त्यो घरमा सबै भएर पनि म एकल थिए । बुढेशकालमा नाती नातीना खेलाएर बस्ने रहर त थियो तर के गर्नु बुहारीले नजिकै पर्न नदिने मेरो सामु ।

एकदिन छोरा-बुहारीको सल्लाह सुनेँ । “यो बिरामी बुढालाई पाल्नुभन्दा त बृद्धाश्रममा लगेर छाडिदिउँ ।” बुहारीको यस्तो कुरा सुनेर पृथ्वी भासिए जस्तै भयो नानी मलाई त्यसबेला । भाउन्न छुट्यो । आँखाबाट आँसु थामिएन रातभरि । रोएरै रात बित्यो ।

त्यस्लाई कति दुःख गरेर खाई नखाई एक्लै हुर्काएँ । पढाएर सक्षम वनाए । । बिहे गरेको एक बर्ष नबित्दै स्वास्निको कुरा सुन्न थालेर मलाई नोकर झैं गर्न थाल्यो । अपमान त कति सहेँ सहेँ नानी, भनेर के साध्ये । एकदिन त बुहारीले हातै हाली ममाथि । छोरा आएर झगडा मिलाउला भन्ने सोच्या त, मध्यरातमा घरबाट घोक्राएर निकाले । बाबा बृद्धाश्रम थर्काएर रूनु भो । मभित्र ९ रेक्टरको भूकम्प गयो । मुटु नै चिरिने गरि म पनि रोएँ ।

जवान युवाहरू देख्दा आफ्नै छोराको याद आउँथ्यो । मन थाम्नै नसक्ने गरी बाउँडिन्थ्यो ।आफ्नै छोराबाट लत्याइएको म, अरू कसले पो कठै भन्थ्यौ र ? मेरो सहारा को थियो र ? यही आँखाको आँसु न हो । अचम्म नानी ! रोएर मान्छेको आँसु कहिल्यै नसकिदो रहेछ । यी हेर न, अहिले पनि यो आँसु बगेको ।” सरक्क आँसु पुछ्नु बाबाले ।

सम्हालिँदै भन्नुभयो बाबाले :
त्यसपछि म सडकको भएँ । बुहारीले नहेरे पनि छोराले त हेर्लान् नि ! जे भए नि छोरा त आफ्नै हो भनेर मनभरी आश बोकेर घरको गेट अगाडि फेरी उभिएँ । तैपनि मेरो लागि गेट खुलेन त्यसबेलादेखि यहीँ छु ।

बाले आफ्नो कथा-ब्यथा सक्नुभो । स्तब्ध बनें म । चौरास्ताको शालिक जस्तै ।

-राधा पाेखरेल

बाको कुरा सुनेपछि एकतमासले अमिलो भयो मेरो मन । फिल्मी कथा जस्तै लाग्यो जीवन । सन्तानहरूमा बढ्दै गएको कठोरता र मूल्यहिनताले मुटु चिमोटिरह्यो । जन्म दिएर
आँज यो अवस्थामा ल्याइपुर्याउने बाबाप्रति यति निर्मम हुन सक्ने सन्तानहरूबाट समाजमा कसरी मानवीय मूल्य स्थापित होला ? कतै यो समाज पाषाण युगतिरै त फर्कँदै छैन ? भावी पुस्तालाई कस्तो संस्कृति छाडेर जाँदैछौं ? प्रश्नै प्रश्नको चक्रब्यूहमा रूमल्लिएँ म ।

जब मान्छेमा नैतिकता र मानवीयता बाँकी रहन्न तब मान्छे, मान्छे नभएर पशु बन्दछ । आमा बाबा विर्सिने हो भने हामी सबै माकुरा हुनुपर्छ । माकुराले दु:खले जाल बुन्छ, बच्चा जन्माउँछ तर विधिको खेल बच्चाले आफ्नै आमा बाबालाई खाइदिन्छ । आज प्रत्येक नेपालीहरुको भिसेरा जाँच गर्ने हो भने बाबा आमा खाने माकुरो तन्तु फेला नपर्ला भन्न सकिन्न ।
आमा-बाबु भनेका जिउँदो भगवान हुन् भने पुरानो पुस्ता भनेको जिउँदो इतिहास । घरको भगवानलाई सधैं रूवाएर मन्दिरमा राखिएको पत्थरको भगवान पुज्नुको के अर्थ ? जिउँदो इतिहासको मानमर्दन गरेर इतिहासको पोथा कण्ठ पार्नुको के अर्थ ?

मैले त्यस निष्ठुरी छोरा-बुहारीलाई चिन्न खोजें । तर बाबाले चिनाउन मान्नु भएन । उल्टै भन्नुभयो : उस्लाई नराम्रो हुन्छ नानी । नचिनेकै राम्रो । म बाबु हुँ, मेरो उमेर पनि उसैलाई लागोस् । ऊ कहिल्यै बुढो नहोस् । म यस्तो भए पनि ऊ सधैं सुखी होस्, खुसी होस् । ओहो ! कस्तो हुन्छ बाबु-आमाको मन । धर्ती जस्तै विशाल अनि आकाश जस्तै फराकिलो । पत्तै नपाई म त डाँको छोड्न पुगेछु ।

म सँग छुट्टिनु अघि बाबाले भन्नुभएको थियो – “नानी !
छोरी भनेपछि सकेसम्म पेटमै मार्ने, जन्मिहाले पनि पशुलाई झैं ब्यबहार गर्ने यो समाजमा परेको बेला काम लाग्ने चाहिँ छोरी नै हुन्छे है । भोलि पेटमा छोरी आईभने नमार है नानी । छोरी भएकी भए आज मेरो यस्तो हालत हुन्थ्यो त ? पक्कै हुँदैनथ्यो ।

वाको कुरामा सत्यता घोलिएको महशुस भएको थियो मलाई ।
छोरीको भ्रुणहत्या गर्ने हत्याराहरूप्रति घृणा जागेर आयो । साँच्चै, छोरी हुनुमा गर्व छ मलाई । छोरी भनेको श्रृष्टी हो । सिर्जना हो । ऊ सहनशील हुन्छे, सहयोगी हुन्छे । सबभन्दा बढी त छोरीसँग मानवता हुन्छ ।

बृद्धाश्रममा कष्टकर जीवन बिताइरहेका, सडकको पेटीमा आँसु पिउँदै अपमानित जीवन बाँचिरहेका वा घरमा सन्तानहरूका बीचमा पनि एक्लो जीवन जिइरहेका ती बृद्ध-बृद्धा आमा-बाबाहरू सम्झेर मभित्र साँच्चै मानवता उर्लेर आउँछ। आफू बाँचेको यस समाजसँग बिद्रोह गर्न मन लाग्छ । खासमा सम्पत्तिमोह र संस्कारहीनता यसको मुख्य कारण हो । अब छोरा-छोरीलाई सम्पत्ति (अंश) होइन, राम्रो शिक्षा र असल संस्कार दिनु पर्छ ।

Blogtay

स्रोत :

WP Facebook Auto Publish Powered By : XYZScripts.com