ताजा समाचार

इन्फिनिटी लघुवित्तको जेठ १३ देखि ६ लाख ७४ हजार कित्ता आइपीओ खुल्दै

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको जेठ १३ गतेदेखि ६ लाख ७४ हजार कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले यसमध्ये ३३ हजार ७०० कित्ता सेयर समूहिक लगानी कोष र १० हजार ३७० कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको ६ लाख २९ हजार ९३० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले आवेदन दिन पाउनेछन् । यो आइपीओमा सिभिल क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गर्नेछ । कम्पनीले जारी पुँजी २० करोड ७४ लाख रुपैयाँको ३२.५% रकम बराबरको सेयर बिक्री गर्न लागेको हो । इन्फिनिटीको आइपीओ जेठ १६ गतेसम्म भर्न सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने असार १० गतेसम्म भर्न सकिनेछ । 

यो आइपीओले औसत भन्दा तल जनाउने ‘इक्रा एनपी ग्रेड ४’ रेटिङ पाएको छ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ । इन्फिनिटीको केन्द्रीय कार्यालय गण्डकी प्रदेश, नवलपुर जिल्ला, गैडाकोट नगरपालिकामा रहेको छ । हाल विभिन्न जिल्लाहरुमा रहेका ४२ शाखा कार्यालयहरुबाट सेवा प्रदान गरिरहेको छ ।

इन्फिनिटीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड १९ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । चुक्ता पुँजी १४ करोड रुपैयाँ रहेको इन्फिनिटीको जगेडा कोषमा २ करोड ७१ लाख ६० हजार रुपैयाँ छ । चैत मसान्तसम्म ४५ करोड ६७ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ३४ करोड ३५ लाख ९८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी २० करोढ ७४ लाख पुग्नेछ ।

इन्फिनिटीले प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षको अन्त्यसम्म १८ रुपैयाँ र आगामी वर्ष २७ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । चालु आवको अन्त्यसम्ममा यसको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ४८ पैसा र आगामी वर्ष १२४ रुपैयाँ २९ पैसा पुग्ने प्रक्षेपण गरेको छ ।

स्रोत : नेपालि पैशा डट कम

WP Facebook Auto Publish Powered By : XYZScripts.com