ताजा समाचार

असुरक्षाको आतंकले हामी नेपाली नारीहरू मानसिक रोगी बन्दै गइरहेका छौं । प्रधानमन्त्रीज्यू ! सिंहासन संकटमा पर्छ भने पनि निर्मलाको हत्यारालाई कार्बाही गर्नुस !

प्रिय बहिनी निर्मला ! बलात्कारपछि तिम्रो हत्या भएको आज ठीक एक बर्ष पुगेको छ । तर, आजसम्म तिमीले न्याय पाउन सकिनौ । न्यायका निम्ति तिम्रो आत्मा भडि्करहेको छ । पुनः एकपटक भावपूर्ण श्रद्धाञ्जली !



खासगरी किशोरीहरू बलात्कृत हुने र हत्या गरिने मुटु चिमोट्ने समाचारहरू प्रत्येक दिनजसो आइरहेका छन् । निर्मला पन्तको बलात्कार र हत्याको समाचार त अन्तरराष्ट्रिय नै बन्न पुग्यो । सरकारले बलात्कारी, हत्यारालाई अहिलेसम्म गिरफ्तार गर्न सकेको छैन ।

साउन १० गते घरबाट निस्केकी तिमी भोलिपल्ट ११ गते घर नजिकै उखुबारीमा मृत भेटियौ । घटना सामान्य थिएन । साक्षी कोही नभए पनि बलात्कारपछि तिम्रो हत्या भएको कुरा तत्कालै पुष्टि भयो । को होला बलात्कारी ? को होला हत्यारा ? खोजी हुनु स्वाभाविक थियो । खोजी भयो । ती बलात्कारी हत्याराको खोजी तिम्रा बा-आमाले गर्नुभयो, आफन्तजनले गरे, समाजले गर्यो र अन्ततः देशले नै गर्‍यो । गरिरहेको छ । तर, अचम्म ! अहिलेसम्म हत्यारा फेला परेको छैन ।



प्यारी बहिनी ! तिमीलाई बलात्कार गर्ने बलात्कारीलाई, तिम्रो हत्या गर्ने हत्यारालाई यो वर्ष दिनमा सरकारले चाहेको भए यो लोक त के कुरा, बाँकी तीनै लोकमा खोजेर भए पनि कार्वाही गर्न सक्थ्यो । तर बहिनी, यो सरकार तिमीलाई बलात्कार गर्ने बलात्कारीलाई सायद लुकाउन चाहान्छ । तिम्रो हत्या गर्ने हत्यारालाई सायद छुपाउन चाहान्छ । यो सरकारको हर्कत देखेर मेरो शीर लज्जाले निहुरिएको छ । बहिनी, यस्तो देशको नागरिक बन्न अभिशप्त यो दिदी, तिमीसँग क्षमा माग्न चाहान्छे । कृपया मलाई क्षमा देऊ ।

तस्वीरहरूमा जब म तिम्रो १३ बर्षे कल्कलाउँदो शरीर देख्छु, निर्दोष अनुहारमा निश्चल मन्द मुस्कान हेर्छुस् प्यारी निर्मला ! जब यी कुराहरू एकएक गरी सम्झन्छु, तब म साँच्चै पागल हुन्छु र धिकार्छु नारी भएर जन्मन परेकोमा ।

प्रधानमन्त्रीज्यू ! निर्मलाको हत्यारालाई कार्बाही गर्दा के तपाईंको सिंहासन संकटमा पर्छ ? पर्छ भने पनि तपाईंले निर्मलालाई न्याय दिनैपर्थो । निर्मला एउटी पात्र हुन् । समाजमा अन्यायमा पिल्सिरहेका हजारौं- लाखौं निर्मलाहरू छन् । उनीहरूले राज्यबाट न्याय पाउनैपर्छ ।



तपाईंले दिनदिनै सपनाको सूची थपेर देश समृद्ध हुँदैन । देशमा शान्ति सुरक्षा आउँदैन । कृपया, अहिले रेल र पानीजहाजको कुरा छाडिदिनुस् । घरघरमा ग्यास पाइपको कुरा पनि बन्द गर्नुस् । सबभन्दा पहिला कम्तिमा ढुक्कसँग बाँच्न त दिनुस् ।

मानौं पानीजहाज र रेल नेपालमा कुद्न थालेपछि छाउगोठमा कुनै पनि किशोरी र युवतीहरू सर्पले डसेर अकालमा मर्नुपर्दैन ? कुनै भुस्तिघ्रे नरपशुहरूबाट छाउगोठमा किशोरीहरू बलात्कृत हुनुपर्दैन ? तल्लो जात भएकै कारण कथित उपल्लो जातबाट धारा, पधेंरो छोएकै आधारमा अपमान र यातना भोग्न पर्दैन ? सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक कुनै पनि भेदभाव, उँचनीच केही ब्यहोर्न पर्दैन ?

छाउगोठमा सुतिरहेका युवती सर्पले डसेर मृत्यु हुने क्रम रोकिएको छैन । तेजाब आक्रमणको आतंक पनि घटेको छैन । जताततै महिला हिंसाका घटना भइरहेका छन् । हिंसा घट्नुको साटो बढिरहेको छ । असुरक्षाको आतंकले हामी नेपाली नारीहरू मानसिक रोगी बन्दै गइरहेका छौं । नारीहरूको सुरक्षालाई कसरी सुनिश्चित गर्न सकिन्छ, त्यतातिर पो गम्भीर भएर सोच्ने होला कि ?

स्रोत :

WP Facebook Auto Publish Powered By : XYZScripts.com